शुभारम्भ विद्यालयको “Mini Exhibition कार्यक्रममा करिब ३०० भन्दा बढी अभिभावक तथा सर्वसाधारणको उपस्थिति

0
_A745516

तारकेश्वर नगरपालिका–मनमैजुमा अवस्थित शुभारम्भ विद्यालय, मन्टेस्वरी स्कूलले पौष ५, सोमबार २०८२ गते “Mini Exhibition 2082” सफलतापूर्वक सम्पन्न गरेको छ। बालबालिकाको सृजनात्मक सोच, प्रस्तुति क्षमता र व्यवहारिक सिकाइलाई उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त प्रदर्शनीमा रोबोट, आर्ट तथा विभिन्न शैक्षिक परियोजनाहरू प्रदर्शन गरिएको थियो।

प्रदर्शनीमा सहभागी विद्यार्थीहरूले आफूले तयार पारेका सामग्री र परियोजनाबारे अभिभावक तथा आगन्तुकहरूलाई आफैंले ब्रिफिङ गर्दै देखाए र सुनाए। बालबालिकाले आत्मविश्वासका साथ आफ्ना सिर्जना प्रस्तुत गर्दै प्रश्नको उत्तर दिएको दृश्यले प्रदर्शनीलाई थप जीवन्त बनाएको थियो। रोबोटिक्स, चित्रकला, हस्तकला, विज्ञान तथा सृजनात्मक कलासँग सम्बन्धित विभिन्न सामग्रीहरूले आगन्तुकहरूको ध्यान आकर्षित गरेको थियो।

कार्यक्रममा करिब ३०० भन्दा बढी अभिभावक तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। प्रदर्शनी अवलोकन गर्न आएका अभिभावकहरूले बालबालिकाको प्रस्तुति शैली, आत्मविश्वास र व्यवहारिक ज्ञान देखेर सन्तुष्टि व्यक्त गरेका थिए।

प्रदर्शनी अवलोकनपछि प्रतिक्रिया व्यक्त गर्दै अभिभावक संगीता अधिकारिले भन्नुभयो, “बालबालिकाले आफ्नै शब्दमा परियोजनाबारे बुझाउँदै प्रस्तुत गरेको देख्दा अत्यन्तै गर्व लाग्यो। किताबको पढाइभन्दा बाहिर गएर व्यवहारिक रूपमा सिकाउने विद्यालयको प्रयास प्रशंसनीय छ।”

त्यस्तै अर्का अभिभावक सुनिता घलेले शुभारम्भ विद्यालयले सानो उमेरदेखि नै बालबालिकामा आत्मविश्वास र प्रस्तुति क्षमता विकास गर्न यस्तो कार्यक्रम अत्यन्त प्रभावकारी रहेको बताउनुभयो। अभिभावक रबिना ढकाल, सरस्वती रिमाल, लगायतले पनि यस्ता प्रदर्शनीले बालबालिकाको सृजनात्मक सोच, जिज्ञासा र बोल्ने क्षमता विकास हुने भएकाले विद्यालयको सिकाइ प्रणाली फरक र प्रभावकारी देखिएको प्रतिक्रिया दिनुभयो।

विद्यालयले Mini Exhibition मार्फत बालबालिकालाई केवल दर्शक होइन, प्रस्तुतकर्ता र सिकाइको केन्द्र बनाउने अभ्यास गरेको जनाएको छ। विद्यालय प्रशासनका अनुसार यस्तो गतिविधिले विद्यार्थीहरूमा नेतृत्व क्षमता, सञ्चार सीप र व्यवहारिक ज्ञान विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँछ। कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने शिक्षक, अभिभावक तथा विद्यार्थीहरूलाई विद्यालय परिवारले धन्यवाद व्यक्त गरेको छ। शुभारम्भ विद्यालयले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक, प्रयोगात्मक र बालमैत्री शैक्षिक गतिविधिहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *