आरम्भ एकेडेमीमा १२०० बढिको उपस्थितिमा भव्य तिज मेला–२०८२ सम्पन्न

0
_A749588

सुबास जी सी, एकेडेमी नेपाल, काठमाण्डौ, गोङबु । आरम्भ एकेडेमीले आयोजना गरेको “तिज मेला–२०८२” विद्यालय परिसरमा एकै साथ शिक्षा, संस्कृति र मनोरञ्जनको संगम बनेर सम्पन्न भएको छ । विद्यालय प्रशासनका अनुसार कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक–कर्मचारीसहित स्थानीयवासी गरी करिब १,२०० भन्दा बढीको सहभागिता भएको थियो ।

कार्यक्रमा बालबालिकाले प्रस्तुत गरेका झाँकी, लाखे नाच, हिन्दु विवाह संस्कार लगायतका कार्यक्रमहरुले उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनायो । विद्यार्थीहरूले आफैं तयार पारेका परिकार, पोशाक, संवाद र अभिनय शैलीले नेपाली समाजको सांस्कृतिक विविधता प्रत्यक्ष झल्काएको थियो ।

उपस्तिथि दर्शकले आफ्नो खुसी साटदै “हामीले बच्चा हुँदा देखेका परम्परागत संस्कृतिहरू आज आफ्नै सन्तानले मञ्चमा उतार्दा गर्व लाग्यो उनले भावुक हुँदै खुसी व्यक्त गरे। यसले उनीहरूलाई संस्कृतिप्रति जोड्ने मात्र होइन, नयाँ पुस्तामा जिम्मेवारीको भावना पनि जगाएको छ।”

कार्यक्रमका संयोजक तथा विद्यालय को–अर्डिनेटर सिजन काप्री ले “विद्यार्थीले किताब मात्र होइन, व्यवहारिक जीवन सीप र संस्कृतिलाई बुझ्ने अवसर पाउनुपर्छ भन्ने हाम्रो विश्वास हो । आजको मेला त्यसैको प्रत्यक्ष उदाहरण हो । आज हामी यश कार्यक्रम मार्फत अभिभावक, विद्यार्थी र समाजलाई एकै ठाउँमा जोड्न सफल भएका छौं” भन्नू भयो ।

कार्यक्रमको मुख्य आकर्षण भनेकै ७ प्रदेशका स्टल प्रदर्शनी रह्यो । बालबालिकाले समूहगत रूपमा आफ्नो जिम्मेवारी प्रदेशका विशेषता उजागर गर्ने गरी स्टल निर्माण गरेका थिए ।

प्रदेश नं. १ (कोशी) : स्थानीय धान, कोदो, आलु, र प्रसिद्ध सुकुटी, सिद्रा र गुन्द्रुक सहितका खाद्यपदार्थ प्रदर्शित भए । किराँत समुदायको परम्परागत पोशाक र उपकरणले दर्शकलाई लोभ्यायो ।

प्रदेश नं. २ (मधेश) : यहाँको मुख्य आकर्षण माछ–भात, तरकारी, दही र तिलको लड्डु थियो । मधेसी महिलाको रंगीचंगी लुगाटाँटी, माटोको भाँडाकुँडा र कृषिमा प्रयोग हुने परम्परागत हलजस्ता उपकरण राखिएका थिए ।

बागमती प्रदेश : काठमाडौं उपत्यकाको प्रतिनिधित्व गर्ने गरी योमरी, चतामरी, सेल र स्वाँ (न्यूारी खानाका परिकार) प्रस्तुत गरिएका थिए । साथै, परम्परागत नेवार पोशाक र धातुका भाँडाकुँडाले स्टल आकर्षक देखिन्थ्यो ।

गण्डकी प्रदेश : यहाँ ढिँडो, फापरको रोटी, सुकुटी, चुकामारी लगायतका परिकार प्रदर्शनमा राखिएका थिए । साथै, गुरुङ र मगर समुदायको भेषभूषा तथा घर–परिवारमा प्रयोग हुने परम्परागत औजार देखाइएको थियो ।

लुम्बिनी प्रदेश : ढिकी–जाँतो, मकै, गहुँ, मुरही, गट्टा, सेल र अचार प्रदर्शनीमा राखिएका थिए । बौद्ध धर्मसँग सम्बन्धित चित्र र भेषभूषाले दर्शकलाई आकर्षित गरेको थियो ।

कर्णाली प्रदेश : कर्णालीको पहिचान झल्काउने गरी झोक्रा, सिलम, सिन्की, गहत, मासको दाल, अलैँची र स्थानीय फलफूल देखाइएका थिए । कर्णालीको जीवनशैली चित्रण गर्ने झाँकीले सबैलाई मन्त्रमुग्ध बनायो ।

सुदूरपश्चिम प्रदेश : यहाँ ढिँडो, गेडागुडी, धिँक्री, सुकुटी, गहुँको परिकार राखिएका थिए । देउडा नाचसँग सम्बन्धित भेषभूषा र संस्कृतिलाई दर्शाउने सामग्रीले स्टल झनै आकर्षक देखिन्थ्यो ।

भ्रमणमा आएका अभिभावक र सार्वजनिक दर्शकहरूले सबै स्टल घुमेर अवलोकन गरे र मनपर्ने स्टललाई भोट पनि दिएका थिए ।

मेलाको औपचारिक उद्घाटन विद्यालयका अध्यक्षले ब्यानर उद्घाटन गरेर गर्नुभयो । त्यसपछि स्टल भ्रमण गरी सबै सहभागीले सामूहिक दर खानासँगै उपस्थितले रमाइलो माहोलमा सामूहिक तिज नाच प्रस्तुत गरे, जसले मेलाको वातावरण झनै उत्साहपूर्ण बनायो ।

त्यहा एक अलग स्टल, कला, संस्कृति र स्थानीय उत्पादनको बिक्री–प्रदर्शन पनि थियो । मेलामा नेपाली मौलिक कला, हस्तकला, चित्रकला, ढाकाका कपडा, माटाका भाँडाकुँडा, स्थानीय हस्तनिर्मित सामानहरूको बिक्री–प्रदर्शनी पनि गरिएको थियो । यसले विद्यार्थी मात्र होइन, अभिभावक र स्थानीयवासीलाई पनि आर्थिक–सामाजिक दृष्टिले जोड्ने अवसर दिएको सहभागीहरूले बताए |

प्रधानाध्यापक प्रदीप भुसालका अनुसार “आरम्भ एकेडेमी सधैं शिक्षा र संस्कृतिको समन्वयमा ध्यान दिने विद्यालय हो । आजका प्रस्तुति र प्रदर्शनीले विद्यार्थीको सिर्जनशीलता र राष्ट्रिय संस्कृतिप्रतिको गर्व झल्काएको छ।”

मेलाको समापनमा आयोजना गरिएको गोलाप्रथाले विशेष उत्साह थप्यो । भाग्यशाली १० जनालाई साडी वितरण गरिएको थियो, जसले मेलामा उपस्थित सबैलाई रमाइलो अनुभव दिलायो । यसरी सम्पन्न आरम्भ एकेडेमीको तिज मेला–२०८२ केवल विद्यालयको मात्र नभई, सम्पूर्ण समाजको साझा उत्सवको रूपमा परिणत भएको विद्यालय परिवारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *