‘समर मेला’ भव्य रूपमा सम्पन्न
सुबास जी सी – टोखा नगरपालिका–ढलमलमा अवस्थित नर्थ पोल किड्स एकेडेमीको प्राङ्गणमा आयोजित ‘समर मेला’ भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयकै आयोजनामा सम्पन्न भएको यस मेलामा विद्यार्थीहरू, अभिभावक र शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

मेलामा बालबालिकाहरूका लागि बालापनमा खेलिने परम्परागत खेलहरू जस्तै डोरी तान्ने, गोट्टा खेल्ने, भक्कन दौड, चुन्नी खेल बालापनका खेल प्रस्तुत गरिएका थिए। यस्ता खेलहरूले अभिभाबकमा सामूहिकता, उत्साह र संस्कारको अनुभव दिलाएको आयोजकले जनाएको छ।
मेलाको क्रममा विद्यालयकी प्रबन्ध निर्देशक (M.D) रेणुका अधिकारीले भनिन्, “आजका बालबालिका र अभिभाव हरू प्रविधिमा डुबेका छन्। यस्ता मेलाले उनीहरूलाई सामाजिकता, सहकार्य, र पुराना दिनको अनुभूति दिलाउँछ। बालापनका खेलमा रमाउँदा उनीहरूमा वास्तविक जीवन सीप पनि विकास हुन्छ।”
यस्तै, विद्यालयका अध्यक्ष श्यामकृष्ण भेटवालले भने, “हाम्रो उद्देश्य केवल पठनपाठन होइन, विद्यार्थीहरूमा सांस्कृतिक र सामाजिक चेतना पनि विकास गर्नु हो। समर मेलाजस्ता कार्यक्रमले विद्यार्थी र अभिभावकबीचको सम्बन्ध अझ बलियो बनाउँछ।” साथै अभिभाबक लाइ बालापन याद दिलाउदै आफ्ना बालबालिकालाई पनि खेल कुद र मनोरन्जनामा हस्तक्षेप नगरी खेल्न दिनु पर्छ भन्ने चेतना बिकास गर्नु रहेको बताए।

कार्यक्रमले सहभागी अभिभावकहरूलाई पनि बाल्यकालको झल्को दिलाएको थियो। धेरै अभिभावकहरू आफ्ना सन्तानसँग परम्परागत खेलहरू खेल्दै उत्साहका साथ सहभागी भएका देखिन्थे। समर मेला बालबालिकाको मनोरञ्जन र शैक्षिक विकास दुबैका लागि प्रेरणादायी बन्न सफल भएको थियो।
मेलाको समापनमा विद्यालयले आगामी दिनहरूमा पनि यस्ता सृजनात्मक तथा सामुदायिक भावना अभिवृद्धि गर्ने कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्दै जाने जानकारी दिएको छ।
